दाङ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको दाबी गरेका छन् ।
यसैगरी, उनले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्न मेची–महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको पनि बताए । अध्यक्ष नेपालले जनतासँग नजोडिएर देशको विकास गर्न नसकिने बताए ।
राज्यले किसानलाई मल, बीउ, प्राविधिक जनशक्तिसँगै उत्पादन भएको अन्य तथा तरकारी स्टोरका लागि कोल्डस्टोर देशका ठाउँ–ठाउँमा निर्माण गरेर सहयोग गर्न आवश्यक रहेको उनले बताए ।
नेता खनालले संविधानले नेपाली जनतालाई हक दिए पनि अझै धेरै विभेद कायम रहेको भन्दै हिजोको सामन्ती वर्गको शोषण अन्त्य भए पनि अहिले पूँजीपति वर्गले गरिब वर्गलाई शोषण गरिरहेको बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न नसक्दासम्म देशको आर्थिक समृति नहुने बताए । देशको आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको भन्दै महासचिव भुसालले किसानले उत्पादन गरेको हरेक वस्तुको बिक्रीको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताए । कृषिको विकास गर्न सके आगामी पाँच वर्षमा कम्तीमा पनि जनताले परिवर्तनको अनुभूति गर्न सक्ने दाबी गर्दै महासचिव भुसालले देशमा कृषिको राम्रो सम्भावना रहेको हुँदा यसमा राज्यले विशेष नजर पुग्नु जरुरी रहेको औँल्याए ।
समाजवादी पार्टीका उपमहासचिव एवं भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले एकीकृत समाजवादी पार्टीबाट जनताले ठूलो आशा गरेको र सोहीअनुसार काममा खटिएको बताए । देशको विकाससँगै सुशासन कायम र भ्रष्टाचार अन्त्यलगायत कुरामा समाजवादी प्रतिबद्ध रहेको तथा देश र जनताको हितविपरित कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पार्टी सचेतक मेटमणि चौधरीले देश र जनतालाई प्राथमिकतामा राखेर विकास र निर्माणको काम गर्ने सच्चा कम्युनिस्ट पार्टी एकीकृत समाजवादी मात्रै भएको दाबी गरे । RSS

















