काठमाडौं । स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप २०२४ मा छनोट भएका छन् ।
आइतबार राति भएको समूह ए को खेलमा स्पेनले नर्वेलाई १–० ले पराजित गरेपछि स्पेनसहित स्कटल्याण्ड पनि यस समूहबाट छनोट भएको हो ।
जितपछि स्पेन ६ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा उक्लँदै युरोकपमा छनोट भएको हो । मैदान नउत्रेको स्कटिस टोलीको पनि समान खेलबाट १५ अंक नै छ र दोस्रो स्थानमा छ । गोलअन्तरमा स्पेन अगाडि रहेको हो ।
यस्तै समूह डीबाट टर्की पनि युरोकपमा छनोट भएको छ । छनोटअन्तर्गत आइतबार राति भएको खेलमा लात्भियालाई ४-० ले पराजित गरेको टर्की ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ । एक खेल अघि नै युरोकपमा स्थान पक्का गरेको हो ।
समूह डी कै अर्को खेलमा वेल्सले क्रोएसियालाई २-१ ले हराएर छनोट हुने सम्भावना कायम राखेको छ । वेल्सका लागि ह्यारी विल्सनले दुवै गोल गरे । क्रोएसियाका मारियो पासालिकले एक गोल फर्काए ।
जितपछि ६ खेलबाट १० अंक जोडेको वेल्स क्रोएसियालाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ ।
यसैगरी समूह आईको खेलमा एन्डोरलाई ४-० ले हराएर रोमानिया शीर्ष स्थानमा उक्लेको छ । रोमानियाको ८ खेलबाट १६ अंक छ । स्विट्जरल्याण्ड ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ ।