१९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजतपदक जितेकी करातेकी एरिका गुरुङलाई सम्मान

37

काठमाडौं । नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले १९औँ एसियाली खेलकुदमा ऐतिहासिक रजतपदक जितेकी करातेकी एरिका गुरुङलाई सोमबार दुई लाख नगदसहित सम्मान गरेका छन् । चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा कराते टोलीका व्यवस्थापक समेत रहेका वैद्यले एसियाडमा कराते खेलाडीले पदक जिते व्यक्तिगत नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । पूर्वघोषणाबमोजिम वैद्यले एरिकालाई पाटनस्थित अशोक हलमा आयोजित एक कार्यक्रमबीच नगद पुरस्कार प्रदान गरेका हुन् ।

एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन् । एसियाली खेलकुदमा नेपालले करातेमा पहिलोपटक रजतपदक जितेको हो । हाङझाव एसियाडमै नेपालले दुई पदक जितेको थियो । महिला कबड्डी टोलीले काँस्यपदक जितेको थियो ।

एरिकाले सेमिफाइनलमा हङकङकी यानकाई होलाई ८–४ अंकले हराउँदै स्वर्ण भिडन्त पक्का गरेकी थिइन् । फाइनलमा भने एरिका काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३–० अंकले पराजित भइन् । त्यसअघि, क्वाटरफाइनलमा एरिकाले जापानकी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् ।

एसियाडको इतिहासमा एरिकाकोसहित नेपालको समग्रमा तेस्रो रजत हो । एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई पहिलो रजतपदक दिलाएकी थिइन् । सविताले सन् १९९८ को बैंकक एसियाडमा व्यक्तिगत स्पर्धामा रजत जितेकी थिइन् । यस्तै, इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदको प्याराग्लाइडिङमा नेपाली पुरुष टोलीले टिम स्पर्धामा रजत जितेको थियो । एसियाडको करातेमा एरिकाअघि समरबहादुर गोले, सीताकुमारी राई र विमला तामाङले काँस्य जितेका थिए ।

arika-(2)-1697476225.JPG

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, वाग्मती प्रदेशका सांसद मीनकृष्ण महर्जन, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र वैद्यले एरिकालाई नगद, प्रशंसा पत्र र पुष्पगुच्छा प्रदान गरी सम्मान गरे । सो अवसरमा एसियाडको करातेमा सहभागी खेलाडी र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।

सो अवसरमा सदस्यसचिव घिसिङले यो सम्मान सुरुआत मात्र भएको बताउँदै सरकारले दिने नगद पुरस्कार पनि छिट्टै प्रदान गर्ने प्रतिबद्धता  जनाए ।

“आजको यो सम्मान सुरुआत मात्र हो । व्यवस्थापकबाटै सुरुआत भएको छ । यसलाई शुभ मान्नुपर्छ । एसियाडमा रजत जित्ने खेलाडीलाई कानुनमा व्यवस्था भएबमोजिमको १९ लाख ५० हजार नगद पुरस्कार पनि सरकारबाट छिट्टै एरिकाले पाउनुहुनेछ,” सदस्यसचिव घिसिङले भने, “पुरस्कारले खेलाडीलाई ऊर्जा त थप्छ नै । खेलाडीले पुरस्कारलाई ऊर्जाका साथै जिम्मेवारी पनि थपिएको छ भन्ने महसुस गर्नुपर्छ ।”

सांसद महर्जनले एरिकाले हासिल गरेको सफलताले सिंगो राष्ट्रलाई खुसी तुल्याएको धारणा व्यक्त गरे । कराते महासंघका अध्यक्ष लामाले यदि थप सफलता हासिल गर्ने हो भने २०औँ एसियाली खेलकुदको तयारीका लागि अहिलेदेखि तयारीमा जुट्नु पर्नेमा जोड दिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here