एजेन्सी । इङल्यान्डलाई सन् १९६६ मा विश्वकप जिताउने टिमका महत्वपूर्ण सदस्य सर बबी चार्ल्टनको ८६ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका सर्वकालीन महान खेलाडी (लिजेन्ड) पनि थिए ।
चार्ल्टनको परिवारले घरमै शनिबार बिहान उनको निधन भएको जनाएको छ ।
सन् २०२० को नोभेम्बरमा स्वास्थ्य परीक्षण गर्दा उनमा बिर्सने रोग (डिमेन्सिया) लागेको पत्ता लागेको थियो ।
म्यान्चेस्टर युनाइटेडले सार्वजनिक गरेको विज्ञप्तिमा उनी क्लबका सर्वकालीक महान खेलाडी (लिजेन्ड) रहेको बताउँदै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको जनाएको छ ।
उनी क्लबका लागि मात्र हिरो नभई समग्र इङलिस फुटबल जगतकै हिरो भएको क्लबको भनाई छ ।

शनिबार राति भएको शेफिल्ड विरुद्धको खेल सुरु हुनुअघि युनाइटेडका तर्फबाट रंगशालामा पुष्पगुच्छा सहित सम्मान गरिएको थियो ।
चार्ल्टनको निधनप्रति इङल्यान्डका सबै क्षेत्रबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएका खबरहरु प्राप्त भएका छन् ।
अक्टोबर ११, १९३७ मा इङल्यान्डको आसिङटनमा जन्मिएका चार्ल्टन सन् १९५३ मा म्यान्चेस्टर युनाइटेडमा स्कुले बालकका रुपमा जोडिएका थिए । १८ वर्षकै उमेरमा उनले सन् १९५६ को अक्टोबरमा युनाइटेडका लागि पहिलो खेल चार्ल्टन एथ्लेटिक्स विरुद्ध खेलेका थिए ।
सन् १९५८ मा म्युनिखमा भएको विमान दुर्घटनामा उनी भाग्यले बाँचेका थिए । त्यस घटनामा युनाइटेडका ८ सदस्य सहित २३ जनाको ज्यान गएको थियो ।
तर त्यस घटनापछि चार्ल्टनको खेल जीवनले नयाँ मोड लिनुका साथै उनी इङलिस टिमका अनिवार्य सदस्य भइरहे ।


















