काठमाडाैं । त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगिसेको नेपाल आज समूह चरणको अन्तिम खेलमा यूएईसँग खेल्दैछ । घरेलु टोली नेपाल र यूएईबीचको खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
नेपाल शुरुवाती तीन खेलमा जीतका साथ फाइनलमा पुगिसकेको छ । यसर्थ आजको खेल नेपाललाई फाइनलअघिको तयारीस्वरुप राम्रो अभ्यास खेल हुनेछ ।
नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । यस्तै हङकङलाई नेपालले दुवै खेलमा क्रमशः ६ विकेट र ७९ रनले हराएको थियो ।
अभ्यासजस्तो खेल भएकाले आज नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले भेट्रान विनोद भण्डारी, युवाहरू विवेक यादव र लोकेश यादवलाई मौका दिने सम्भावना रहेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ । अर्कोतर्फ यूएईले यसअघि हङकङ ६ विकेटले हराएको थियो । फाइनलमा पुग्न बाँकी दुईमध्ये एक खेल यूएईले जित्नुपर्ने हुन्छ । यसर्थ, यूएईले आज नेपाललाई जिते फाइनलमा पुग्नेछ । यसैले, आज उसका लागि यो खेल महत्वपूर्ण हुनेछ । यूएई पक्कै आज नेपाललाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ । पछिल्लो समयमा ठूला खेलको अनुभवी रहेको नेपाललाई हराउन यूएईलाई सजिलो भने छैन । नेपालसँग पराजित हुँदा यूएईले बुधवार हङकङलाई हराउनुपर्ने हुन्छ । यूएईले हारेमा हङकङ फाइनलमा पुग्नेछ ।


















