फिफाले अनौठो योजना अघि सारेको बिबाद

77

काठमाडौं । सात वर्षपछि फिफा विश्वकप आयोजना सुरु भएको एक शताब्दी पूरा हुँदैछ । विश्वकपको शताब्दी पूरा भएको उत्सव मनाउन फिफाले अनौठो योजना अघि सारेको छ । सन् २०३० को विश्वकप तीन महादेशमा विश्वकप आयोजना हुनेछन् । ६ देशमा आयोजना हुने यो विश्वकप पाँच फरक टाइम जोन र दुई फरक मौसममा हुनेछ। खेलाडीले पनि धेरै लामो यात्रा तय गर्नु त छ नै, यसबाट कार्बन उत्सर्जन बढ्ने भन्दै वातावरणविद्ले प्रश्न उठाउन थालेका छन्।

६ देश, पाँच फरक टाइम जोन, तीन महादेश, दुई फरक मौसम, तर एउटै विश्वकप, यो फिफा विश्वकप २०३० को विशेषता हो । फिफाले तीन साताअघि गरेको प्रस्ताव अनुसार यो विश्वकप दक्षिण अमेरिका, युरोप र अफ्रिकामा हुनेछ। यो प्रस्तावलाई स्वीकार गर्न त्यति सजिलो छैन। त्यसमाथि फ्यानले यो विश्वकप कसरी हेर्छन् ? दुई फरक मौसममा खेल्न खेलाडीलाई कति सहज ? अहिले यस्तै प्रश्नले फिफाको जवाफ पर्खिरहेका छन् ।

मोन्टेभिडियोमा विश्वकपको उद्घाटन खेल भएपछि दक्षिण अमेरिकाका तीन सहरमा एक-एक खेल हुनेछन् । उरुग्वेमा सय वर्षअघि विश्वकप सुरु भएको स्मरण गर्दै दक्षिण अमेरिकाका तीन सहरमा विश्वकप आयोजना गर्न लागिएको हो । त्यसपछिका खेल स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछन्। यी छ देश स्वतः विश्वकपमा पुग्नेछन्। यो आयोजना सफल भएमा विश्वकप आयोजना गर्न साना देशलाई पनि सहयोग हुनेछ।

विश्वकपमा खेलाडीले दुवै गोलार्धमा फरक मौसममा एकै विश्वकप खेल्ने छन् । जाडो याममा खलिरहेका खेलाडीले अर्को खेल गर्मी याममा खेल्नुपर्ने हुन्छ। त्यतिबेला रुग्वेको तापक्रम ८ देखि १५ डिग्री सेन्टिग्रेड हुँदा मोरक्कोको तापक्रम ३० डिग्रीभन्दा माथि हुने छ । बाँकी भेन्युको अवस्था पनि लगभग उस्तै हुनेछ । के एकै खेलाडीले यति धेरै फरक वातावरणमा खेल्न सक्छन् त ? त्यसमाथि मौसम परिवर्तन पछिल्लो समयको अर्को समस्या हो।

खेलाडीले धेरै लामो यात्रा गर्नुपर्ने भएकाले विश्वकपको विचित्र परिदृश्य देखिने छ। अर्जेन्टिना र स्पेनको हवाई यात्रा १३ घण्टाको छ। त्यो विश्वकपमा खेलाडीको यात्रा कस्तो हुने भने अहिलेसम्म केही तय भएको छैन । यसले खर्च त बढाउने छ नै, कार्बन उत्सर्जन र पुनः उत्पादन नहुने खनिज तेलको खपत बढ्ने पक्का छ । यो कामले फिफाले कार्बन उत्सर्जनमा कमी गराउने बाचाको धज्जी उडाउने छ । यसलाई वातावरणविद्हरुले खतरा र गलत कुराको प्रचारको रुपमा बुझेका छन् । तर फिफाका अध्यक्ष जियानी एन्फान्टिनोले सबैलाई समेट्न विश्वकपलाई धेरै ठाउामा आयोजना गरेको बताएका छन्।

विश्वकपका सुरुका खेल आयोजना गर्ने अर्जेन्टिना र पराग्वेकै समय पाँच घण्टाले फरक छ । यस्तोमा समर्थकले विश्वकप हेर्ने समय कसरी मिलाउँछन् ? फिफाले पााच सय २१ मिलियन नाफा हुन्छ भनेको यो प्रस्तावलाई अर्को वर्ष बैंककमा हुने फिफा कंग्रेसले टुंगो लगाउने छ । फिफाले एकै विश्वकपले संसारका धेरै मानिसलाई फरक खाले अनुभूति दिने बताए पनि समर्थकलाई ६ देशमा गएर फुटबल हेर्न सकस हुनेछ। र, खेल छानेर हेर्नुपर्ने बाध्यता बढ्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here