काठमाडौ, १३ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोतीमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा दुईको जनाको मृत्यु भएको छ । बिहान करिब साढे ३ बजेको समयमा भएको दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं को बस विपरीत दिशाबाट जाँदै गरेको ना६ख ७७१९ नं को ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी बसचालक बाँके कोहलपुर नगरपालिका–४ का २३ वर्षीय सुरज विक र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ११ को भरतपुरमा, चारको मध्यविन्दु अस्पताल डण्डा र १७ को कालिगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको छ ।

















