काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आयोजना गरेको चियापान कार्यक्रममा स्थायी समितिका सदस्यहबीच पार्टीलाई एकताबद्ध र बलियो बनाएर अगाडि बढ्नुपर्ने जोड दिनुभएको बुझिएको छ । पार्टी स्थायी समितिका सदस्यहरुलाई चियापानको लागि भनी बोलाएपछि विभिन्न आशंका गरिएको थियो । भेलामा नेता नेपालले पार्टीलाई विधान र पद्धति अनुसार चलाउनु पर्नेमा जोड दिएको र सबै उपस्थित सदस्यहरु नेता नेपालको भनाईमा सहमत भएको सहभागी सदस्य मध्यका युवा नेता योगेश भट्टराईले जानकारी गराउनु भएको छ ।
नेता नेपालले पार्टीलाई विधि, पद्धति, प्रणाली र प्रक्रियाअनुसार अगाडि बढाउनुपर्ने उल्लेख गर्दै नेपाली जनताले निकै आशा र अपेक्षाका साथ पार्टीलाई मत दिएर जिताएको हुँदा सरकारले मुलुक, जनता र राष्ट्रप्रति गम्भीर भएर दायित्व पूरा गर्नुपर्नेमा जोड दिनु भएकोे भट्टराईले जानकारी गराउनु भएको छ । पार्टी एकतापछि विकसित घटनाक्रमका बारेमा पार्टीका निर्णय प्रक्रिया, पार्टीको अवस्था, मुलुकको अवस्था, सरकारका सन्दर्भमा भएका टीकाटिप्पणीका विषयमा नेता नेपालले स्थायी समितिका सदस्यहरुसँग राय लिने उद्देश्यले चियापानको आयोजना गरिएको पनि भट्टराईले जानकारी गराउनु भयो ।
वरिष्ठ नेता नेपालले केन्द्रमा दुई पार्र्टीबीच एकता भइसकेपछि प्रदेश, जिल्ला तथा जनवर्गीय सङ्गठनबीचमा एकता गर्दा पार्र्टी प्रणाली कसरी स्थापित गर्ने र केन्द्रीय निकाय, केन्द्रीय कमिटी र स्थायी कमिटीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको पनि उहाँले जनाउनु भयो ।


















