न्युयोर्क / न्युयोर्कमा सार्कको अध्यक्षता लिएको नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको सार्क राष्ट्रका विदेशमन्त्रीहरुको अनौपचारिक बैठकको बीचैमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज निस्किएपछि सार्कविरुद्ध भारतले कडा अडान लिएको रुपमा यसलाई हेरिएको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले आयोजना गरेको बैठकमा पाकिस्तानी विदेशमन्त्री आउने भएपछि उनले बोल्नु अघि नै स्वराज आफ्नो मन्तव्य दिएर बाहिरिएकी थिइन्।
बैठकबाट निस्कनुअघि स्वराजले भनिन्– दक्षिण एसियाली क्षेत्रको विकास र समृद्धि भारतको छिमेकी पहिला नीतिअन्तर्गत उच्च प्राथमिकतामा छ।
स्वराजको बहिर्गमन लगत्तै पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेशीले व्यंग्यमिश्रित भाषामा भने, ‘हुनसक्छ उहाँलाई सन्चो थिएन र बिचैमा बाहिरिनु भयो।’
अर्थात क्षेत्रीय संगठन र सामूहिकताभन्दा बढी भारतले आफ्नो परराष्ट्र नीतिअन्तर्गत क्षेत्रीय सहयोग अगाडि बढाउने स्पष्ट पारेर सार्क उसको चासोमा नपरेको संकेत दिएको छ।
इस्लामावादमा हुने निश्चित भएको सन् २०१६ को सार्क शिखरलाई पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोपका साथ भारतले बहिस्कार गर्दै आएको छ ।


















