अनसनरत भारती पत्रकार सम्मेलनस्थलमै बेहोस

59

काठमाडौं । आफ्ना पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् ।

गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् । पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको उनका एक सहयोगीले जानकारी दिए ।

यसअघि सर्वोच्च अदालतमा तारिख लिन जाँदा पनि बेहोस भएर ढलेपछि उनलाई वीर अस्पताल लगिएको थियो । आफ्नो पतिको हत्यामा संलग्नलाई दिइएको कैद छुटको निर्णय खारेज हुनुपर्ने माग राखी उनले असोज १७ गतेदेखि अनसन शुरु गरेकी थिइन् ।

दशैं विदामा अनसन स्थगित गरेकी उनले गत शुक्रबारदेखि फेरि रिले अनसन जारी राखेकी छन् । शेर्पाले आफ्ना पति चिरन मानन्धरको हत्यामा संलग्न बाँकेका रिगल ढकालको कैद मिनाहा गर्ने मन्त्रिपरिषदको सिफारिस र राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा समेत रिट निवेदन दर्ता गरेकी छन् ।

सर्वोच्च अदालतले मुद्दाको सुनुवाइपछि विपक्षीहरुसँग कागजात समेत मगाइसकेको छ । मंगलबारदेखि उनको मुद्दामा निरन्तर सुनुवाइ हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here