परिवर्तनको जनचाहनालाई परम्परागत नेतृत्वले अब नेतृत्व दिन नसक्ने

46

काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले लामो राजनीतिक जीवन बिताएकाहरूले अब विश्राम लिनुपर्ने जनाएका छन्।

देशलाई यथास्थितिबाट मुक्त गराउन पनि लामो राजनीतिक जीवन बिताएकाहरूले विश्राम लिनुपर्ने लिङ्देनको धारणा  छ।

‘एउटा राजनीतिक परिवर्तनमा हाल नेतृत्वमा रहेकाहरुको योगदान रह्यो होला तर कठिन अवस्थाबाट गुज्रिरहेको देशलाई यथास्थितिबाट मुक्त गराउन लामो राजनीतिक जीवन बिताएकाहरुले विश्राम लिनुपर्छ,’ अमरिकाको टेक्सासमा भएको कार्यक्रममा उनले भने।

उनले परिवर्तनको जनचाहनालाई परम्परागत नेतृत्वले अब नेतृत्व दिन नसक्ने पनि लिङ्देनको धारणा छ।

उनले भूगोलमा नेपाल मेची-महाकालीमा समेटिएको भए पनि भावनाको नेपाल संसारभर छरिएको र तिनलाई कसैले उपेक्षा गर्न नमिल्ने जनाए।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनमा उनले नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा जोड दिए।

लिङ्देनले नेपाली राजनीतिमा पुस्ता हस्तान्तरण र नेतृत्व परिवर्तनको कुरा लामो समयदेखि उठिरहेको भए पनि राप्रपाले व्यवहारिक रुपमै आफ्नो पार्टीमा नेतृत्व परिवर्तन गरेको जनाए।

‘पार्टीलाई नयॅा दिशा प्रदान गरिएको छ। राष्ट्रिय राजनीतिमा राप्रपालाई आशालाग्दो शक्तिका रुपमा उभ्याइएको छ,’ उनले भने, ‘पार्टीमा अझै धेरै मिहिनेत गर्न बाँकी छ। पार्टीको मात्रै होइन, देशकै नेतृत्व परिवर्तन गर्नुपर्छ।’

अध्यक्ष लिङ्देनले राप्रपाले उठाएको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा केवल कोही व्यक्तिलाई राजा बनाउने र कुनै जात र धर्म विशेषलाई प्रोत्साहित गर्नको लागि नभई नेपालको पहिचान, एकता र स्थायित्वका लागि भएको दाबी गरेका थिए।

साथै पानसको नयाँ अध्यक्षमा रवि रावल चुनिएका छन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पानस अमेरिकाको २१ सदस्यीय नयॅा नेतृत्व सर्वसम्मतिले चयन भएको हो।

उपाध्यक्ष दिपु भुषाल, नरेन्द्र शाह, बामदेव अर्याल, केमिका भण्डारी चयन भए।

महासचिव शंकर बिशुंखे, सचिव गोविन्द सिंह ठकुरी र कोषाध्यक्ष रामशरण श्रेष्ठ चयन भएका छन्।

समाजको सल्लाहकारमा राजेन्द्र शेरचन, राधा शर्मा र नरेन्द्र खड्का चयन भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here