युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न गुटेरेसकाे आग्रह

51

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न आग्रह गरेका छन्।

अहिले युक्रेन, रसिया, इसरायल, प्लानेस्टाइन जस्ता विभिन्न मुलुकहरूमा भइरहेको युद्धबाट सम्पूर्ण विश्व नै पीडित भइरहेकोले शान्ति स्थापनाका लागि लाग्न उनले सबैलाई आग्रह गरेका हुन्।

मंगलबार बिहान गौतमबुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि आएका महासचिव गुटेरेसले मायादेवी मन्दिर अगाडिबाट सम्बोधन गर्दै युद्धग्रस्त मुलुकहरूलाई शान्तिको मार्गमा लाग्न आग्रह गरेका हुन्।

महासचिव गुटेरेसले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको बताए।

भगवान गौतमबुद्ध जन्मिएको ठाउँ लुम्बिनीमा उभिएर विश्वलाई नै शान्तिको सन्देश दिन पाएकोमा आफूलाई अत्यन्त खुसी लागेको गुटेरेसले बताए।

महासचिव गुटेरेसले पछिल्लो समय जलवायुमा देखिएको परिवर्तनको कारण विकसित राष्ट्रहरू भए पनि त्यसको प्रभाव भने नेपाल जस्ता विकासोन्मुख मुलुकहरूले भोगिरहेको बताए।

prachanda-1698735520.jpg

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महासचिव गुटेरेसलाई स्वागत गर्दै लुम्बिनी बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मात्र होइन, शान्ति र सद्भावको केन्द्र रहेको र यसले मानव जातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा प्रेरणा र मार्गदर्शन गरिरहने बताए।

प्रधानमन्त्री प्रचण्डले महासचिवको लुम्बिनी भ्रमणबाट विश्वभर शान्ति र सद्भावको सन्देश प्रवाह गरेको भन्दै विश्वव्यापी महत्वको ऐतिहासिक स्थलको भ्रमणको लागि धन्यवाद व्यक्त गरे।

संयुक्त राष्ट्रसंघ लामो समयदेखि नै लुम्बिनीको विकाससँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको पहलमा नै लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गर्‍यो, विश्वव्यापी मञ्चमा यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई मान्यता दिएको बताए।

उनले राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तको भ्रमणपछि जापानी वास्तुकार केन्जो टांगेद्वारा लुम्बिनी गुरूयोजना तयार गरी सोही अनुरूप काम भइरहेको बताए।

शान्ति र सद्भावको तीर्थस्थलको प्रमुख केन्द्रमा रहेको लुम्बिनीको विकासको लागि हालसम्म भएका सहयोगप्रति धन्यवाद दिँदै लुम्बिनीलाई विश्व शान्ति र समझदारीको केन्द्रको रूपमा विकास गर्न संयुक्त राष्ट्र लगायत अन्तर्राष्ट्रिय समुदायको अझै पनि सहयोग र समर्थन रहने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here