महोत्तरी । गौशाला नगरपालिकामा ‘बोक्सी’को आरोपमा छिमेकीबाट कुटपिट हुँदा एकै परिवारका ६ जना घाइते भएका छन् । गौशाला–११ स्थित लक्ष्मीनियाकी इतरियादेवी रामलाई छिमेकीले बोक्सीको आरोपमा कुटपिट गरेपछि प्रतिकार गर्दै बचाउमा गएका परिवारका सबै सदस्य घाइते भएका हुन् ।
इतरियादेवीका श्रीमान्, चार छोरा–बुहारी र ६ महिने नातिसहित परिवार नै अहिले अस्पताल भर्ना भएको छ । इतरियाको बचाउमा गएका श्रीमान् राजेन्द्र राम, छोराहरू सुरेन्द्र, देवेन्द्र, बुहारी सम्तोलियादेवी र सुन्दरकला घाइते भएका हुन् । उनीहरूले जनकपुरमा उपचार गराइरहेको प्रहरीले जनाएको छ ।
गत असोज २७ गते राति छिमेकी राम केवलले घरमा भूतप्रेतले दुःख दिएको भन्दै धामी राखेका थिए । धामी विनोद पासवानले तन्त्रमन्त्र गर्दा राम केवलकी १७ वर्षीया छोरी लीलावतीकुमारी शरीरमा देवी चढेको भन्दै बर्बराउन थालिन् । इतरियाले भूतप्रेत खेलाएर बोक्सीको काम गरेको र आफ्नी सासूको मृत आत्मालाई कब्जामा लिएर दुःख दिएको र लीलावतीको शरीरमा समेत देवी चढाएको भन्दै पासवान र राम केवलले इतरियाको घरमै पसेर उनीमाथि कुटपिट गरेका थिए । राति ९ बजेतिर घिसार्दै घरअगाडि सडकमा ल्याएर कुटपिट गरेको भन्दै असोज २८ गते इतरिया प्रहरीमा उजुरी लिएर पुगेकी थिइन् ।
इलाका प्रहरी गौशालमा दिएको निवेदनमाथि समयमै कारबाही नगर्दा थप ठूलो घटना भएको पीडित परिवारको भनाइ छ । गत मंगलबार त्यही निहुँमा पुनः कुटपिट हुँदा इतरियाको बायाँ हात भाँचिएको र शरिरभरि चोटपटक लागेको प्रहरीले जनाएको छ । इतरियाको बचाउमा गएका परिवारका अन्य सदस्य पनि घाइते भएका हुन् ।
यसै गरी, गत कात्तिक ८ गते बर्दिवास–९ पशुपतिनगरमा पनि दुई महिलामाथि कुटपिट भएको छ । ५० वर्षीया रामपतिदेवी यादवले देवरहरू विजेन्द्र यादव, वेरेन्द्र यादवले बोक्सी भन्दै कुटपिट गरेको बताएकी छन् । उनकी नन्द ४५ वर्षीया सुनितादेवीलाई पनि बोक्सी भन्दै कुटपिट गरेको रामपतिका छोरा रोशन यादवले बताए । रामपतिले बोक्सी लागेको भनेर आफ्ना कान्छा ससुराका छोरा बिजेन्द्रको परिवारबाट कुटिएको बताइन् । इलाका प्रहरी बर्दिवासका डीएसपी विजय यादवले पारिवारिक झगडामा कुटपिट भएको सुनिए पनि प्रहरीमा जानकारी नआएको बताए ।