काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) ले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन् ।शुक्रवार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए । उनले संसदीय व्यवस्था भनेपनि सांसदहरूले भनेका कुरा लागू नहुने गरेको बताए । उनले देश ३५ वर्ष यता तीन जना नेताहरूमै घुमिरहेकाले त्यसलाई चिर्न आफूहरू आएको बताए । उनले जनताका गास, बास र कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरूमा रहेको बताए ।
‘अहिले हाम्रोमा कस्तो देखियो भने, भन्नलाई लोकतन्त्र भन्छौँ । हिजो पनि संसदमा सुन्नुभएको होला । भन्नलाई संसदीय व्यवस्था भन्छौँ तर त्यहाँ सांसदले भनेको कुरा खासमा लागू हुँदैन । दुई तीन जना नेताले जे भन्नुहुन्छ त्यही हुन्छ । त्यो व्यवस्थालाई चिर्ने । दुई चार जना नेताले मात्रै ३०–३५ वर्ष देश चलाइरहेको छ । तिनीहरूको सेरोफेरोमा देश घुम्दै आएको छ’ उनले भने ।
अध्यक्ष राउतले जनताको भरोसालाई इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको बताए । उनले पार्टीलाई राष्ट्रव्यापी रुपमा बिस्तार गर्ने बताए । उनले आफू मन्त्री बन्नकै लागि पार्टी खोलेर राजनीतिमा नआएको बताए ।


















