काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) ले एएफसी एसिया कप र फिफा विश्वकपकाे प्रारम्भिक संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमनविरुद्धको पहिलो लेगका लागि तयारी थालेको छ ।
मंगलबार दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा एन्फाले यमनविरुद्धको खेलका लागि आवश्यक तयारी गरिरहेको जानकारी गराएको हो ।
नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ । यसअघि अन्तर्राष्ट्रिय खेलहरु प्रायः साँझ ५ः ३० बजे हुने गरेकोमा एन्फाले यसपाली प्रशिक्षकको सल्लाहअनुसार खेल साढे १ घण्टा पछि सारेको हो ।
‘जाडोको मौसमलाई मध्यनजर गरी सँधैंजसो ५ः३० मै खेल गराउने योजना थियो । तर प्रशिक्षकको सल्लाहअनुसार हामीले ७ बजे खेल राखेका हौं,’ प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले बताए, ‘प्रशिक्षकले ७ बजे खेल गराउँदा टोलीका लागि पनि राम्रो हुने बताउनुभयो । नेपालले कात्तिक ३० गते दुबईमा युएईविरुद्ध दोस्रो चरणको सुरुआत गर्देछ । त्यहाँ पनि खेलाडीले ९ः३० बजे खेल्नेछ ।’
जाडो मौसममा यति ढिलो खेल गराउँदा रंगशाला पुगेर खेल हेर्न आउने समर्थकलाई घर जान गाह्रो पर्ने देखिन्छ । यसका लागि एन्फाले आवश्यक विकल्प खोज्ने बताएको छ ।
‘हामीले चक्रपथमा २० देखि २५ वटा बसहरुको व्यवस्था गर्दैछौं । ताकी खेल हेर्न आउने दर्शकलाई घर जान सजिलो होस् । यसका लागि हामी तयारीमा लागेका छौं,’ मिश्रले भने ।
खेलका लागि एन्फाले टिकट दर साधारण प्यारापिटतर्फ ४ सय र भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ । टिकटहरु खेल हुने दिन बिहान रंगशाला परिसरमै बिक्री गरिनेछन् ।
त्यस्तै एन्फाले यमन राष्ट्रिय टोलीको आगमनपछि च्यासलस्थित च्यासल रंगशालामा प्रशिक्षण गर्ने बताएको छ ।
प्रतियोगिताको अनुमानित बजेट ५५ हजार ६ सय ८० अमेरिकी डलर रहेको पनि एन्फाले जानकारी दिएको छ ।
कार्यक्रममा एन्फा उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक खतिवडा, प्रवक्ता सुरेश शाह र प्रतियोगिता निर्देशक सञ्जीव मिश्रको उपस्थिति थियो ।
युएईविरुद्ध दोस्रो चरणको पहिलो खेल खेल्न यहि कात्तिक २६ गते नेपाली टोली दुबई प्रस्थान गर्दैछ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको मुख्य प्रशिक्षणमा हाल २६ सदस्यीय टोली बन्द प्रशिक्षणमा छ ।


















