काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई आह्वान गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीसमक्ष आग्रह गरे ।
महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए ।
एसिया प्रशान्त क्षेत्रबाट लगानी एवम् प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने उनले बताए ।
क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवम् आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुर्याउन क्यासी तयार रहेको प्रतिवद्धता जनाए ।
भेटमा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव डा. बैकुण्ठ प्रसाद अर्याल र क्यासी पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति थियो ।
















