काठमाडौ -स्वस्तिश्री गुरुकुल आई.बर्ल्ड स्कुलको आयोजनामा तेस्रो लालाबाला काठमाडौँ अन्तराष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ । सम्पन्न समारोहमा बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनज्यूको गरिमामय उपस्थिति थियो । महोत्सवमा विभिन्न देशबाट सहभागिता जनाएका रंगकर्मीहरुलाई माननीय मन्त्रीज्यूले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । साथै रंगमन्च उत्थान र विकासका लागि महोत्सव आयोजना गर्ने बिद्यालय स्वस्तिश्री गुरुकुल आई.बर्ल्ड स्कुल र महोत्सव परिकल्पनाकारप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।
विद्यालयकि प्रवन्ध निर्देशक तथा नाटक महोत्सवकि अध्यक्ष मिना महर्जनले “विश्वमा देखिएको अशान्तिले भविष्यका कर्णधार वालबालिकाहरु युद्धबाट नराम्ररी प्रभावित भैराखेको अवस्थामा ‘बालबालिकाहरुको लागि शान्ति’ नाराको साथ नाटक महोत्सव आयोजना गरिएको” बताउनुभयो ।
‘महोत्सव विभिन्न देशका नाट्य रङ्गकर्मी जमघट गराउने उदेश्यका साथ मात्र नभएर बिश्व शान्ति स्थापना, आपसी मेलमिलाप, विश्व भाईचारा स्थापित, विविधतालाई सम्मान साथै देशको पर्यटनमा सहयोग गर्ने उदेश्यले गरिएको कुरा महोत्सव निर्देशक तथा परिकल्पनाकार टंक चौलागाईंले बताउनुभयो ।
कार्तिक २२ गतेबाट सुरु भएको महोत्सवमा ९ वटा राष्ट्रहरु भारत, नेपाल, बाङ्गलादेश, पाकिस्तान, फ्रान्स, स्लोभाकिया, पोल्याण्ड, श्रीलङ्का, इजरायल र थाइल्याण्डका थियटर रङ्गकर्मी कलाकारहरुको सहभागिता रहेको थियो ।
कार्तिक 22 गते बुधबार बाजा सहित र्याली गरेर उद्घाटन भएको महोत्सव २५ गते शनिबार समापन भएको हो । उद्घाटन अबसरमा पुर्व उपकुलपति हरिहर शर्मा प्रमुख अतिथि, डा. प्रो सावित्रि मल्ल, नाट्यकर्मी अषेश मल्ल, नाट्यकर्मी विजय बिस्फोट विषेश अतिथि हुनुहुन्थयो ।
नेपालबाट छ वटा विद्यालय र बाहिरबाट सहभागी नाटकहरु दर्शकले खुब रूचाए ।
बाहिरबाट आएका कलाकारहरुले स्वयंभू, चन्द्रागिरी, वसन्तपुर, पशुपतिनाथ लगाएतका स्थान भ्रमण पनि गरे ।
हरेक वर्ष आयोजना हुने महोत्सवमा देश बिदेशबाट आएका रङ्गकर्मी तथा लगातार ४ दिनसम्म उपस्थित रंगमन्चलाई माया गर्ने दर्शकहरुको उपस्थितिले महोत्सव भब्य रुपमा सम्पन्न भएको थियो।

















