लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु

26

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।

रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपियाँको लगानीमा निर्माण सुरु भएको हो ।

रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनका अनुसार लुम्बिनी क्षेत्र विकास कोष भित्र रहेको एक बिघा क्षेत्रफल जमिनमा रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भई सन् २०२५ मा निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ । रसियन राजदूत असेक्सेई नोभिकोभले एक समारोहकाबिच रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएको भिक्षुहरूको बौद्ध पाठपरायणसहित मन्दिर निर्माणको शिलान्यास गर्नुभएको हो ।

त्यस अवसरमा रसियाबाट आएका बौद्ध भिक्षु लामाहरू बुँदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमनले विशेष बौद्ध पाठपरायण गर्नुभएको थियो । नेपालको सिई कन्स्ट्रक्सनले साढे दुई तले मन्दिर निर्माण सुरु गरेको छ । रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल सन् २०२३ मा निर्माण सुरु भएको हो । जहाँ रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाको डिजाइन गरिएको छ ।

शिलान्यास कार्यक्रममा बोल्नुहुँदै रसियन राजदूत नोभिकोभले नेपाल रसियामैत्री सम्बन्धमा संस्कृति आदान प्रदान गर्ने उद्देश्यसहित बुद्ध जन्मभूमिको जमिनमा रसियन गुम्बाको निर्माण सुरु गरेको बताउनुभयो । उहाँले शान्तिको सन्देश बुद्धभूमि लुम्बिनी नेपालदेखि रसियाको सम्बन्ध थप प्रगाढ बन्ने बताउनुभयो । साथै राजदूतले नेपाल रसिया सम्बन्धमा लुम्बिनीको ‘रुसी बौद्ध मन्दिर’ कोसेढुङ्गा साबित बन्दै भावी पिँडीका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

शिलान्यास समारोहमा रुस–नेपाल मैत्री समाजका उपाध्यक्ष दिनानाथ राज भण्डारीले दुई देशबिच द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने यो प्रयास संस्कृति संरक्षणमा बुद्धभूमि नेपालको पहिचान थप उजागर बनेको स्पष्ट पार्नुभयो । रुसी बौद्ध समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसारभर शान्ति स्रोत राष्ट्र बन्न सक्ने बताउनुभयो । लुम्बिनी विश्व विद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीबाट प्रवाह हुने शान्ति सन्देशलाई संसारभरका मानव जातिले महत्त्वका साथ हेर्ने दाबी गर्नुभयो ।

नेपालको तर्फबाट रुसका लागि भूतपूर्व राजदूत ऋषिराम घिमिरेले नेपाल र रसियाबिचको सम्बन्ध आपसी सहयोग, सदभाव र मैत्रीको प्रतिकका रूपमा रहेको उल्लेख गर्दै बुद्ध भूमिको महत्त्व बढाउन नयाँ कडी भएको उल्लेख गर्नुभयो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा. बद्री केसीले नेपालले रुसको सदाशयतालाई सम्मान गरेर त्यसबाट लाभ लिनुपर्ने बताउनुभयो । उहाँले बौद्धधर्म संस्कृति, समाज तथा जनजीवनको अध्ययनसँगै मन्दिर निर्माणले दुई देशबिच दौत्य तथा मैत्री सम्बन्ध विधिवत् रूपमा थप विस्तार गरेको बताउनुभयो ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले यसमा प्रवासी नेपालीहरूले समेत सहजीकरण गरेको जानकारी दिनुभयो । उहाँले बुद्धको जन्मस्थान लुम्बिनीमा २७ देशहरूले आफ्नो देशको प्रतिनिधित्व हुने गरी मन्दिर तथा गुम्बाहरू निर्माण गरिसकेको बताउनुभयो ।

लुम्बिनी विकास कोषका अनुसार ४० वटा देश तथा संघसंस्थासँग संरचना निर्माणका लागि सम्झौता भएको हो । झण्डै १२ प्रतिशत जनसङ्ख्या बौद्धमार्गी भएको मुलुक रुसले अबको दुई वर्षमा मन्दिर निर्माण सम्पन्न गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here