काठमाडौं । नेपाल फिफा विश्वकप २०२६ र एएफसी एसिया कप-२०२७ को संयुक्त छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यमनबीचको पहिलो लेगको खेल दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने एन्फाका महासचिव किरण राईले जानकारी दिएका छन् ।
छनोट खेलको लागि अखिल नेपाल फुटबल संघले सम्पूर्ण तयारी पूरा गरेको पनि उनले बताएका छन् । त्यस्तै दोस्रो चरणको सम्पूर्ण खेलको व्यापारिक तथा मिडिया अधिकार सिंगापुरस्थित स्पोर्टफाइभलाई प्रदान गरिएको छ ।
यमनसँगको खेलको लागि साधारण पारापिटतर्फ ४ सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर कायम गरिएको एन्फाले जनाएको छ । खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ ।
विश्वकप एसिया छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेको छ । नेपालले पहिलो खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो ।

















