भूकम्प पीडित नागरिकको जीवन रक्षा गर्न माग

28

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ ।

चिसोमा कठ्याँग्रिएर भूकम्प ज्यान गईरहेको समाचार बाहिर आइरहेका बेला एमाले केन्द्रीय कमिटी बैठकले तत्काल अस्थायी आवास र न्यानो कपडाको व्यवस्था गरी भूकम्प पीडितहरुको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले राहत वितरणलाई राजनीतिक प्रचारबाजीको विषय नबनाउन र सबै पीडितलाई पक्षपातरहित ढंगले राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले भने, ‘राहत वितरणलाई राजनीतिक प्रचारवाजी नाफाघाटाको सौदाबाजीको विषय बनाइएको छ । यस्ता क्रियाकलापप्रति यो बैठक आपत्ति प्रकट गर्दछ । क्षतिका आधारमा सबै पीडित नागरिकलाई पक्षपातरहित ढंगले राहत वितरणमा सुनिश्चितताको माग गर्दछ । पीडितहरुको पुनस्र्थापनाका लागि ठोस कार्ययोजना सहित अविलम्ब काम थाल्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउँदछ । अस्थायी आवास तथा न्यानो कपडा उपलब्ध गराएर भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गर्दछ ।’

त्यसैगरी एमालेले इजरायल-प्यालेस्टाईन दुवै पक्षलाई तत्काल युद्ध बिराम गरी बन्धन बनाइएकाहरुलाई अविलम्व रिहा गर्न पनि अपिल गरेको छ ।

अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गरी शान्तिको पक्षमा उभिन र संयुक्त राष्ट्र संघको प्र्रश्ताव अनुसार समस्याको शान्तिपूर्ण समाधानमा गर्न पनि दुवै युद्धरत पक्षलाई पार्टीले आह्वान गरेको पनि पार्टीका प्रचार विभाग प्रमुख गौतमले बताए ।

उनले भने, ‘यो बैठक इजरायल, प्यालेसटाईनका बीचमा अविलम्व दिगो युद्धविराम गर्न अपिल गर्दै बन्धक बनाइएकाहरुलाई अविलम्ब रिहा गर्न, प्यालेस्टाईनी नागरिकका लागि गाजा क्षेत्रमा निर्वाध रुपमा मानवीय सहायता सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण पालना गर्न, शान्तिको पक्षमा उभिन, र समस्याको शान्तिपूर्ण निकासका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुरुप दुई राज्य समाधानको प्रस्ताव कार्यान्वयन गर्न संवद्ध पक्षलाई आह्वान गर्दछ ।’

एमाले बैठकले पार्टीका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनप्रतिे शोक व्यक्त गर्दै शोक प्रश्ताव पनि पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here