प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । निषेधित क्षेत्र र कार्यक्रमस्थल आसपासमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।
तिनकुने क्षेत्रमा एमाले नेता महेश बस्नेत सहितका कार्यकर्ताहरु भेला हुने क्रम जारी छ । उनीहरुमध्ये अधिकांशले रातो क्याप लगाएका छन् ।
प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा ड्रोनबाटसमेत निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।
युवा संघले तिनकुनेमा र प्रसाईं समूहले बल्खु क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । दुवैको कार्यक्रमस्थलमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।
अत्यावश्यक कामबाहेक सवारीसाधन लिएर ननिस्कन प्रहरीले सूचना जारी गरेपछि काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चाप कम देखिएको छ ।


















