युगान्डा पहिलो पटक टी–२० विश्वकप खेल्दै

40

काठमाडौं । आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप क्रिकेटमा सहभागी हुने सबै टिमको तय भएको छ।

बिहीबार भएको अन्तिम चरणको अफ्रिकी छनोटमा युगान्डाले पहिलो पटक विश्वकपमा स्थान बनाउँदा टेस्ट अनुभवी राष्ट्र जिम्बाब्वे भने विश्वकपमा छनोट हुन असफल भयो। अफ्रिकी छनोटमा नामिबिया र युगान्डाले टी–२० विश्वकपको टिकट पक्का गरेका हुन्।

नामिबियामा जारी आइसिसी टी–२० विश्वकप अफ्रिका छनोटमा युगान्डाले रुवान्डालाई ९ विकेटले हराउँदै शीर्ष दुईमा रहेर २०२४ को टी–२० विश्वकपमा स्थान पक्का गरेको हो।

युगान्डा सिनियर स्तरको पहिलो पटक विश्वकपमा पुगेको हो। यू–१९ टोलीले तीन पटक विश्वकप खेले पनि सिनियर टोली भने छनोट हुन सकेको थिएन। जितको लागि ६६ रनको सामान्य लक्ष्य पाएको युगान्डाले ८.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

अफ्रिका छनोटबाट एक खेलअगावै लगातार ५ जितका साथ नामिबिया विश्वकपमा पुगेको थियो। युगान्डा ६ मध्ये ५ खेलमा जित निकाल्दै १० अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकपमा पुग्दा जिम्बावे र केन्या भने प्रतियोगिताबाट बाहिरिए।

यी हुन् २०२४ को टी–२० विश्वकप खेल्ने २० राष्ट्रः

एसियाबाट – नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमान

युरोपबाट – इंग्ल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, आयरल्यान्ड

इस्ट एसिया प्यासिफिकबाट – अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुवा न्यु गिनी

अमेरिकाबाट – वेस्ट इन्डिज, युएसए, क्यानडा

अफ्रिकाबाट – दक्षिण अफ्रिका, नामिबिया र युगान्डा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here