काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जनाए ।
प्रहरीका अनुसार, घले गएराति ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए । विशेष सूचनाको आधारमा भन्सारको टोलीले उनलाई अवतरण गर्ने वित्तिकै पक्राउ गरेको विमानस्थल स्रोतले जनाएकाे छ । थप अनुसन्धान भन्सार कार्यालयले गरिरहेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई दिनअघि मात्र तस्करीको सुन राखेको आशंकामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।
यसअघि ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो । यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ । समितिले यसअघि सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।


















