काठमाडौं । सरकारले आयातीतसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएपछि व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । आलु प्याज व्यापारीले भ्याटको विरोध गर्दै आयात रोकेपछि बजारमा आलु र प्याजको अभाव भएको छ भने यसको फाइदा लिँदै कृत्रिम मूल्यवृद्धि गरिएको छ ।
आयातीत मात्र नभई स्वदेशी आलु र प्याजमा पनि भ्याट तिर्नुपर्ने अव्यावहारिक निर्णयका कारण व्यापारीले विरोध गरेका हुन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यापारी विरोधमा उत्रेका हुन् ।
भारतबाट आयात गरेको आलु–प्याजमा भ्याट बिल पाइने तर नेपाली किसानबाट खरिद गरेको आलु–प्याजमा भ्याट बिल नपाइने भएकाले समस्या भएको जिकिर व्यवसायीको छ ।
भारतीय कृषिउपजलाई निरुत्साहित गर्न आलु र प्याजमा भ्याट लगाइएको थियो । तर, नेपाली उत्पादनलाई भ्याट नलाग्ने गरी नीति नै ल्याउने भनिएको थियो तर सो कुरा कार्यान्वयनमा नआएपछि व्यवसायी आलु प्याज बिक्री बन्द गरेर विरोधमा उत्रेका हुन् ।
सरकारले आन्तरिक कृषिउपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीले भनाइ रहेको छ ।
सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याजमा १३ प्रतिशत भ्याट लगाएको थियो । यो समाचार राजधानी दैनिकमा छ।

















