रुसी सेनाकाे तेस्रो क्याम्पमा गएदेखि अभिषेक सम्पर्कविहीन

43

घोराही । रुसी सेनामा भर्ना भएका अभिषेक बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको छ । रोल्पा त्रिवेणी गाउँपालिका–२, नुवागाउँ निवासी (हाल घोराही) मा बस्दै आउनुभएका बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको हो ।

उहाँ गएको भदौ २४ गते रुसी सेनामा भर्नाका लागि काठमाडौंबाट जानुभएको थियो । रुस पुगेर पहिलो र दोस्रो क्याम्पको तालिम गर्दासम्म परिवारको सम्पर्कमा रहे पनि तेस्रो क्याम्पमा गएदेखि सम्पर्कविहीन हुनुभएको अभिषेककी श्रीमती सविता बुढाले बताउनुभयो ।

सविताका अनुसार अभिषेकले असोजको २४ गते तेस्रो क्याम्पमा जान थालेको फोनमार्फत घरपरिवारलाई जानकारी गराउनुभएको थियो । त्यहाँ फोन पनि नलाग्ने र लडाइँ पनि भएकाले केही समय सम्पर्कमा नआउने श्रीमान्ले बताएको सविताले जनाउनुभयो ।

सविताले भन्नुभयो, “जहाँ भए पनि फुर्सदमा फोन गरिहाल्नुहुन्थ्यो । घरपरिवारको सन्चो बिसन्चो सोध्नुहुन्थ्यो र छोरीसँग कुरा गर्नुहुन्थ्यो तर अहिले दुई महिनासम्म सम्पर्कमा नआउँदा केही भइहाल्यो कि ? कतै दुःख पाउनुभयो कि भन्ने चिन्ता लागेको छ ।” परिवारको आर्थिक अवस्था कमजोर रहेको र घरव्यवहारकै क्रममा धेरै ऋण लागेपछि उहाँ पोल्यान्ड जाने तयारीमा हुनुहुन्थ्यो । त्यसका लागि पासपोर्टसमेत दलाललाई बुझाउनुभएका अभिषेकलाई दलालले पठाएनन् बरु विभिन्न बहानामा दुई लाख ५० हजाररुपियाँ खाइदिए ।

त्यहीबिचमा उहाँले स्वदेशमै केही गर्छु भनेर अटो किनेर चलाउने गर्नुभयो तर त्यसबाट पनि आम्दानी हुन नसकेपछि निर्माण व्यवसायीसँग मिलेर ठेक्कापट्टाको समेत काम गर्नुभएको थियो । त्यही बजारमा कोठा गरी बस्ने र छोराछारीलाई पढाउँदा ऋण बढ्दै गएपछि राम्रो कमाइ हुने आशामा रुस जानुभएको थियो ।

उहाँले भन्नुभयो, “घरपरिवारले जान दिँदैनन् भनेर सुरुमा रुस जान थालेको भन्नुभएन, हामी पनि जानुहुँदैन होला भन्नेमा थियौँ तर पछि एकै पटक भिसा आइसक्यो अब जान थालेँ भनेर फोन गरेपछि थाहा पाएका हौँ ।”

उहाँलाई रुस पठाउने दलाललाई समेत नचिन्दा अहिले उहाँको अवस्थाका बारेमा बुझ्न थप समस्या भएको सविता बताउनुुहुन्छ । रुसमा पनि चिनेको कोही नभएको र पठाउने मान्छेसमेत थाहा नपाउँदा थप समस्या भएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here