काठमाडौं । झापा एफसीले जारी नेपाल सुपर लिग(एनएसएल) मा पहिलो जित निकाल्दै प्लेअफको सम्भावना कायमै राखेको छ ।
दोस्रो सिजनबाट एनएसएलमा डेब्यु गरेको झापाले पाँचौँ खेलमा पहिलो जित निकाल्यो । एक जित र तीन बराबरीबाट ६ अंक बटुल्दै झापा छैटौँ स्थानमा छ । यता, बुटवल भने दुई जित, एक बराबरी र तेस्रो हारसँगै सात अंकका साथ पाँचौँ स्थानमा छ । त्यसअघि खेलको पहिलो आक्रमण आठौँ मिनेटमा झापा एफसीले गर्यो ।
सोही रिबाउन्डमा बलमा लक्ष्मण रुचाल वान भर्सेस वानमा गोल गर्न चुके । ३९ औ मिनेटमा सान्चेजको गोलाट झापाले अग्रता लियो । अञ्जन बिष्टको पास नियन्त्रणमा लिएका सान्चेज पेनाल्टी क्षेत्रमा दुई डिफेन्डरलाई छक्याउँदै सुन्दर गोल गरे । त्यससँगै पहिलो हाफमा झापा १–० ले अगाडि रह्यो । ६१औँ मिनेटमा कप्तान अन्जनले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् ।
आभास लामिछानेको लामो पास नियन्त्रणमा लिएको अञ्जन करिब १५ यार्डबाट गोल गर्न असफल रहे । झापाका लागि ७६ औँ मिनेटमा प्रदीप लामाले अवसर खेर फाले । कप्तान अञ्जनले दिएको उत्कृष्ट पास पेनाल्टी क्षेत्रमा रहेका प्रदीपले सट प्रहार गर्न सकेनन् । ८०औँ मिनेटमा कप्तान अन्जनको स्थानमा उज्वल राई मैदानमा प्रवेश गरे । ८३ औँ मिनेटमा झापाको गोल गर्ने दुई अवसर सफल हुन सकेन । सान्चेजले लेफ्ट साइडबाट गरेको पहिलो प्रहार बुटवलका गोलकिपर मोहमोडुको हातमा टच हुँदै माथिल्लो बारमा लागेर फर्कियो ।
लगत्तै रिबाउन्ड बलमा समिराज थोकरको हेडमा मोहमोडुले रोके । ८९ औँ मिनेटमा बिनोङले बुटवलको खेलमा फर्कने अवसर खेर फाले । अशोक झापाको फ्रिकिकमा अफसाइड बिट गर्दै पेनाल्टी क्षेत्रमा छिरेका बिनोङ वान टच गोल गर्न चुके । इन्जरी समयको पहिलो मिनेटमा प्रदीप लामाले पेनाल्टी बक्सबाट गोल गर्न सकेनन् । त्यससँगै बाँकी समयमा केही आक्रमण भएपनि थप गोल हुन सकेन र झापाले बुटवलमाथि साँघुरो जित निकाल्यो ।


















