काठमाडौं । बर्दिया, बढैयाताल गाउँपालिका-३ सिमरास्थित सडकमा भे.७ प ५३८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बाँके खजुरा गाउँपालिका-३ बस्ने ३० वर्षीय कृष्ण सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।
धनुषा, लक्ष्मिनिया गाउँपालिका-४ सपही पुलस्थित सडकमा प्र.२-०२-००२ प ४०९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमला नगरपालिका-८ सोनपारा बस्ने २५ वर्षीय भरत सहनी समेत २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि न्युरो अस्पताल जनकपुर रिफर गरिएको छ ।
मकवानपुर, भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित सडकमा प्रदेश ३-०२-००८ प ४२४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-३ बसामाडी बस्ने २५ वर्षीय बिकल सारु मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















