अदालतमा बालकृष्ण खाँणले ३० लाखको बैंक ग्यारेन्टी बुझाए

50

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन्।

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन्। अदालतमा उनले धरौटी रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएपनि तत्काल उनी छुट्ने छैनन्।

उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित गराएपछि मात्र छाडिने केन्द्रीय कारागारले जनाएको छ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको थियो ।

भुटानी शरणार्थी समस्याबारे अध्ययन गर्न बनेको पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा कीर्ते गरेर खाँण गृहमन्त्री भएका बेला नेपाली युवालाई अमेरिका पठाउने प्रयास भएको अनुसन्धानबाट खुलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here