काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
ढकालले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएपछि ढकालले नवनिर्वाचित सञ्चालकहरुलाई आइतबार शपथ गराएका हुन् ।
ग्लोबल आइएमई बैंकको १७औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त, तथा सर्वसाधारण शेयरधनीतर्फबाट कृष्णप्रसाद शर्मा, नारायण प्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका थिए । शपथ ग्रहण समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुगाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।


















