मन्थली । जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा अझै पनि कायमै छ ।
यसरी ठगी गर्नेको पहिचान गर्न नेपाल झाँक्री सङ्घले अनुगमन टोली बनाएको पनि उनको भनाइ छ । परम्परा र संस्कार संरक्षणका लागि यो काम गर्नुपर्नेमा बोहोरा जोड दिन्छन् । उनी धामी, झाँक्री र माताले मनपरी शुल्क लिने गरेको र यसखाले ठगी नियन्त्रणका लागि धामी–झाँक्री सङ्घको अनुगमन टोली बेलाबेलामा आउनुपर्नेमा जोड दिन्छन् ।
“यो व्यवसाय होइन, संस्कारका रूपमा विकास हुनुपर्छ”, बोहरा भन्छन् । विकृतिका रूपमा फैलिँदै गएको धामी–झाँक्रीको साखमाथि असर पर्ने काम गर्नेहरूलाई नियमनका लागि पनि देशैभरका झाँक्रीलाई एउटै संस्थामा ल्याउनुपर्ने उनको भनाइ छ । पहिले कुन जमिनमा घर बनाउँदा राम्रो हुने, कतापट्टि फर्काउने, मूलढोका कता राख्ने र प्रकृति पूजनको सबै काम र त्यसको शुभसाइत झाँक्रीले नै गर्ने गरेको बोहोरा बताउँछन् ।
मानवीय विकाससँगै अस्पतालबाट गरिने उपचारलाई पनि प्राथमिकता दिनुपर्ने भन्दै उहाँ सकेसम्म बिरामीको निःशुल्क सेवा गर्न झाँक्रीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिन्छन् । अस्पताल धाउँदाधाउँदै निको नभएका बिरामी पनि आफूले तान्त्रिक विधिबाट उपचार गरेर निको पारेको मन्थली नपा वडा नं ७ का तान्त्रिक विशेषज्ञ केदारप्रसाद ढुङ्गेल बताउँछन् ।


















