कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइयाे

65

काठमाडौं । वीर अस्पतालले कार्यविधि विपरीत करारमा कर्मचारी राखेको पाइएको छ । यसरी राखिएका १३ जना कर्मचारीमध्ये १० जना स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकका छन् ।

वीर अस्पताल प्रशासनले १० कात्तिकमा सातौं तहको १ जना मेडिकल ल्याब, पाँचौ तहका ल्याब टेक्निसियन ५ जना, इलेक्ट्रिसियन चौथो तहका २ जना, पलम्बर चौथो तहको १ जना, चौथो तहकै लिफ्ट असिस्टेन्ट ४ जना गरी १३ जना जनशक्ति करारमा राख्ने निर्णय गरेको थियो । तर ‘चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि–२०७६’ विपरीत १७ कात्तिकमै सबै कर्मचारी भर्ना गरेको पाइएको छ ।

करार सेवा व्यवस्थापनसम्बन्धी कार्यविधिमा करारमा जनशक्ति पदपूर्ति गर्दा न्यूनतम २१ दिनको सूचना प्रकाशन गरी इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था छ । तर एक हप्ताको सूचना निकालियो, जुन दरखास्त बुझाउने अन्तिम दिन १७ गते केही समय मात्रै सर्जिकल भवनमा टाँसिएको थियो । ‘सार्वजनिक रुपमा जानकारी नदिई केहीबेर टाँसिएको जस्तो मात्रै गरियो’ वीर अस्पतालका एक अधिकारी भन्छन् ।

१९ गते कर्मचारी छनोटको लिस्ट सार्वजनिक भयो । अनलाइनखबरलाई प्राप्त विवरण अनुसार करारमा राखिएका १३ जनामध्ये १० जना सिन्धुपाल्चोक जिल्लाका चौथो तहको लिफ्ट असिस्टेन्टमा सिन्धुपाल्चोक बाह्रबिसेका दिपेन्द्र बस्नेत, सन्तोष बस्नेत, पाँचपोखरी थाङपालकी विमला अधिकारी, लिसंखु पाखरकी अन्जली तामाङलाई नियुक्त गरेका छन् । यसैगरी चौथो तह इलेक्ट्रिसियनमा मेलम्ची सिन्धुपाल्चोकका अरुण सापकोटा र सन्तोष दाहाल, पाँचौ तहको ल्याब टेक्निसियनमा मेलम्चीकी रस्मीता मिश्र, रुद्रमतीकी प्रमिला आचार्य, बाह्रबिसेका सन्तोष राउत छन् ।

सातौं तहको मेडिकल ल्याब टेक्निसियनमा बाह्रबिसे सिन्धुपाल्चोककै स्मीता थापा नियुक्त भएकी छन् । करारमा राखिएका १३ मध्ये तीन जना मात्र अरु जिल्लाका परेका छन् । पाँचौ तह ल्याब टेक्निसियनमा दुधौली सिन्धुलीकी प्रमिला श्रेष्ठ र रसुवाकी स्मृति देवकोटा तथा पाँचौ तह पलम्बर पदमा बनेपा, काभ्रेका सुरेन्द्र दंगाललाई करारमा राखिएको छ ।

करार कर्मचारी छनोट समितिमा अस्पतालका निमित्त निर्देशक डा. श्रवण थापा संयोजक थिए । तर स्वास्थ्यमन्त्री बस्नेतले दबाबमा उनीहरुलाई नियुक्ति दिइएको स्रोतको दाबी छ । त्यसक्रममा फर्म तथा शुल्क लिएर राजस्व समेत दाखिला नगरेको पाइएको अस्पताल स्रोतले जनाएको छ ।

वीर अस्पतालले १ मंसिरमा मेडिकल अधिकृत ३० र स्टाफ नर्स २६ जना माग गरेको छ । ‘मन्त्रालयबाट लिस्ट आए अनुसार प्रशासनका कर्मचारीले फाइल तयार गरिरहेका छन्’ वीरका एक पदाधिकारीले भने, ‘डाक्टरको अन्तवार्ताको काम भइरहेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here