काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्ने भएको छ । १७ पुसदेखि ग्लोबल बैंक १७औं वर्षमा प्रवेश गर्दैछ ।
उक्त अभियान अन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु उपलब्ध हुने जनाएको छ ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्ने र जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।
अन्य ६ वटा प्रदेशहरुमा पुस महिना भर शिविरहरु सञ्चालन हुने बैंकले जनाएको छ । जस अन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका ८ को गौरीगञ्ज स्वास्थ्य चौकीमा १३ पुसमा, लुम्बिनी प्रदेशमा पाल्पाको रैनादेवी छहरा गाँउपालिका ३, छहरा स्वास्थ्य चौकीमा १७ पुसमा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १३ को जर्बुट्टा स्वास्थ्य चौकीमा १८ पुसमा स्वास्थ्य शिविर सञ्चालन हुने बैंकले जनाएको छ ।
यस्तै २१ पुसमा गण्डकी प्रदेशमा अन्नपूर्ण गाँउपालिका ६ म्याग्दीको पोखरे बजार आधारभूत विद्यालय र २८ पुसमा कोशी प्रदेशमा इलाम नगरपालिका-४ को मलाटे स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको बैंकले जनाएको छ ।


















