नेपाली कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रिय सभा निर्वाचनका लागि सम्भावित नाम सिफारिस गरेको छ।
विराटनगरस्थित प्रदेश समितिको कार्यालयमा सम्पन्न बैठकले पूर्वमन्त्रीदेखि सांसद, तथा नेताहरुसहित ९ जनाको नाम सिफारिस गरेको प्रदेश समितिको सूचना तथा सञ्चार समिति संयोजक बासु कोइरालाले जानकारी दिए ।
सूचना तथा सञ्चार समिति प्रमुख कोइरालाका अनुसार पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजालको नाम सिफारिस भएको छ। त्यसैगरी प्रदेश समितिले पूर्व सांसद डीला संग्रौला, रुक्मणी कोइराला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी र आंगेलु शेर्पाको नाम सिफारिस भएको कोइरालाले बताए ।
त्यसैगरी बैठकले प्रदेशस्तरीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजकमा कांग्रेस कोसी प्रदेश समितिका उपाध्यक्ष रमेशजंग रायमाझीलाई नियुक्त गरेको छ ।
उनी प्रदेश समिति उपाध्यक्ष र राष्ट्रिय सभा सदस्य समेत हुन् । त्यसैगरि, बैठकले मिति तय नगरेपनि कांग्रेसको कोसी प्रदेश सम्मेलन विराटनगरमा गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय सभाको रिक्त हुने पदका लागि माघ ११ गते निर्वाचन हुने कार्यतालिका रहेको छ । निर्वाचनमा भाग लिने दलहरुले मंसिर २४ देखि २९ गतेसम्म दल दर्ता गरिसकेका छन् ।


















