ल्होसारकाे अवसरमा प्रमद्वारा शुभकामना व्यक्त

49

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानले विविधतामा आधारित पहिचानलाई संस्थागत गरेको बताएका छन्। तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै  उनले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको बताएका हुन्।

‘नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको छ ‘, प्रधानमन्त्रीले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

उनले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको जनाए ।  राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता नेपालको राष्ट्रिय विशेषता र पहिचानका रुपमा रहेको छ । यस विशेषतालाई आत्मसात गरी देशमा विद्यमान चुनौतीको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहेको छ।’, प्रधानमन्त्री दाहालले भने।’

मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने बताउँदै प्रधानमन्त्री दाहालले ल्होसारले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा एवं सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारमा एकीकृत हुन सम्पूर्ण नेपालीमा उत्प्रेरणा पैदा हुने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here