त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन

52

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुन: प्रकाशित गर्न निर्देशन दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई शुक्रबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बोलाएर प्रधानमन्त्रीसमेत रहेका कुलपति दाहालले विज्ञापन सच्याएर प्रकाशित गर्न निर्देशन दिएका हुन्।

विश्वविद्यालयको सुधारका निम्ति आफूले संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रबार प्रकाशित सूचनाले योग्य मान्छेहरू छनोटको ढोका बन्द हुन सक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्रीले जनाएका थिए।

पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाएर फेरि सूचना प्रकाशित गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा हाम्रो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जो-कोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड बनाउन आग्रह गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here