काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न नेपालका शिर्ष नेताहरु होटल पुगेको खुलासा भएको छ ।
परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नै नदिएर नेपालका पूर्वप्रधानमन्त्री सहित शिर्ष नेताहरुले जयशंकरलाई द्वारिकाज होटलमा भेट्न पुगेको खुलासा भएको हो ।
नेताहरुले यस विषयमा जानकारी नदिएपनि जयशंकरले आफ्नो ट्वीटरबाट भेटघाटका तस्बिरहरू सार्वजनिक गरेपछि यो घटना खुलासा भएको हो ।
जयशंकरलाई भेट्न होटल पुग्नेमा पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छन् ।

यसैगरी, मधेसवादी नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर र सिके राउतले सामूहिकरूपमा जयशंकरसँग भेटे । यी कुनै पनि भेटघाटका ठोस विषयवस्तु र एजेन्डा थिएनन् ।

यसअघि जयशंकरले शीतलनिवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई र बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए ।
सामान्यतया विदेशी अतिथिहरूसँग देशका नेताहरूको भेटघाटको चाँजोपाँजो मिलाउने जिम्मेवारी परराष्ट्र हो । तर, पूर्वप्रधानमन्त्रीहरूसहित शीर्ष नेताले भारतीय विदेश मन्त्रीलाई भेटेको विषयमा परराष्ट्र मन्त्रालयले अनभिज्ञता दर्शाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाहेक अरु नेताहरूसँगको भेटघाट आफूहरूको जानकारीमा नरहेको बताए ।















