काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडलाई २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्। आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ। छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लोसमय त्यसमा गत्यावरोध देखिएको भन्दै नयाँ ढंगले काम अगाडि बढाउन निर्देशन दिए।
‘विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो। बीचमा चाहिँ तलमाथि भएको मैले बुझें। औषधि उत्पादनको कामलाई नयाँ ढंगले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईहरूले काम सुरू गर्नुस्। सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यो काम म गर्छ,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने। प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुबै बढाउनुपर्ने बताए। देश आत्मनिर्भर बन्ने एउटा राम्रो क्षेत्र यो पनि हो। सबै कुरा एकैपटक नहोला। तपाईहरू काम सुरू गर्नुस्। मैले पनि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयसँग थप छलफल गर्छु। यस क्षेत्रमा देखिने गरी काम गरौं,’ उनले भने।


















