प्रधानमन्त्रीलाई देश विकास गर्न नसके राजीनामा दिन सांसद सुवालको सुझाव

35

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन्।

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो जनाए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपु¥याएको बताएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए।
उनले अघिल्लो सरकारहरुले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए।

राणा शासन र पञ्चायतविरुद्ध लडेकाहरुले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए। उनले जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिए। उनले नेपालका प्रधानमन्त्रीहरुसँग देश विकासको खाका नरहेको जिकिर गरे। गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले देशलाई नर्क बनाएको उनको आरोप छ।

उनले भने, ‘हाम्रा प्रधानमन्त्रीहरुसँग देश विकासको खाकै छैन। अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो, अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो। अघिल्लो सरकारहरुले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि,होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि। राणा शासनको बिरुद्ध लडेको, पञ्चायतको बिरुद्ध लडेको बहुदल र गणतन्त्र अब केही गर्न सकिँदैन भनेर हुन्छ। जनतालाई धोका दिने सिंहदरबार कब्जा गरेर। हामीले धोका दिन र भाग्न पाइँदैन भनेका छौँ। प्रधानमन्त्री भएर भाग्न पाइन्छ। हाम्रो प्रधानमन्त्री र मन्त्रीको काम कस्तो लाजमर्दो। परराष्ट्रमन्त्रीले एउटा बैठकमा मलाई अहिले साह्रै गाह्रो दिनको सात हजार राहदानी वितरण गर्नुपर्छ रे। देशलाई नर्क बनाउने काम भएको छ। निर्वाचनमा जित्नु मात्रै ठूलो कुरा होइन। अहिलेसम्मको बहुदल र गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले यस्तो चासो नै राखेको छैन।’

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए। उनले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्षदिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए। उनले हरेक प्रधानमन्त्री र मन्त्रीहरुलाई खानेपानीको धारा खोल्नैपर्ने रहरले समस्या निम्तिएको बताए।

उनले अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब खर्च भइसकेको र अब ६० अर्ब खर्च गरेपनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने बताए। २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा जनचेतनामुलक शैक्षिक प्रदर्शनी गरिएको छ।

भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामुलक शैक्षिक प्रदर्शनी भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here