उम्मेदवार छनोटमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिने महामन्त्री मुकुल ढकालले जानकारी दिए । यसअघि भएको उपनिर्वाचनमा रास्वपाले स्थानीय उम्मेदवार बनाएको थिएन ।
लामिछाने र वाग्लेले चुनाव जिते पनि बाराका उम्मेदवार खरेलले निकै कम मत पाएका थिए । ‘बारामा स्थानीय उम्मेदवार नभएकै कारणले जमानत नै जफत हुने अवस्था बन्यो’, महामन्त्री ढकालले भने, ‘बारा र तनहुँको उपनिर्वाचनबाट हामीले धेरै कुरा सिकेका छौं ।’
उम्मेदवार बनाउनका लागि पार्टीले केही अनुहारलाई ‘नोटिस’मा राखेको ढकालले जानकारी दिए । उनका अनुसार रास्वापाबाट उम्मेदवार हुने आकांक्षा राखेर सम्पर्कमा आउने व्यक्तिहरु पनि छन् ।
उपनिर्वाचनलाई ध्यानमा राखेर रास्वपाले इलाममा पार्टी गतिविधि गरिरहेको छ । महामन्त्री ढकाल दुई दिन इलामको कार्यक्रममा सहभागी भएर फर्किएका छन् ।
उपनिर्वाचन भएको जिल्ला भएकाले महत्व दिएर प्रशिक्षणका लागि गएको उनले बताए । रास्वपाले इलामका सबै पालिकामा संगठन विस्तार गरिसकेको छ । २०७९ मंसिरमा भएको आम निर्वाचनमा एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए ।


















