एजेन्सी । आइसिसी यू-१९ विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ।
न्युजिल्याण्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल केही समयपछि फिल्डीङका लागि मैदानमा उत्रिने छ।
नेपालले न्युजिल्यान्ड विरुद्धको प्लेइङ ११ मा दुई तीव्र गतिका बलर र तीन स्पिनरलाई स्थान दिएको छ। अनुभवी गुलशन झासँगै आकाश चन्द टोलीमा रहँदा स्पिनर दीपेश कँडेल, सुभाष भण्डारी र तिलक भण्डारीलाई पनि टोलीमा समेटेको छ।
८ वर्षपछि न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको नेपाल न्युजिल्यान्डविरुद्ध हावी हुँदै आएको छ। यि दुई टोलीबीच यू-१९ विश्वकपमा यो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित हासिल गरेको थियो।
पहिलो पटक नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो। श्रीलंकमा भएको विश्वकपमा नेपाल र न्युजिल्यान्डको युवा टिमबीच प्लेट च्याम्पियनको फाइनलमा प्रतिस्पर्धा हुँदा ऐतिहासिक रूपमा नेपाल च्याम्पियन बन्यो।
कोलम्बोमा भएको खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो। यू-१९ मा नेपालले जितेको यो अहिले सम्मकै उच्च उपाध समेत हो। उक्त खेलमा न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य नेपालले अन्तिम २ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको थियो।
पछिल्लो पटक नेपालले सन् २०१६ मा बंगलादेशमा प्रतिस्पर्धा गरेको थियो। यू-१९ विश्वकपको समूह चरणमा भएको उक्त स्पर्धामा फेरि नेपाली युवा टोलीले न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्दै आफ्नो जित यात्रा कायम राख्यो।
पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २३८ रन जोडेको थियो। ववाफमा किवी टिम ४७.१ ओभरमा २०६ रनमै अलआउट भयो। २०१६ पछि यू-१९ विश्वकपमा नेपालको यो पहिलो सहभागिता हो।
यस्तो छ नेपालको प्लेइङ ११: देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेश प्रसाद कंडेल, सुभाष भण्डारी, दीपक बोहोरा (ओपनर), उत्तम रंगु थापा मगर, तिलक राज भण्डारी, आकाश चन्द, दिपक बोहोरा

















