चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले शक्तिकेन्द्रको भक्तिभाव गर्ने काम गरिरहेको आरोप लगाएका छन् ।
विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन गरेको भक्तिभावको उदाहरण भएको ज्ञवालीको भनाइ छ ।
भारतीय दूतावासमार्फत सिधै २० करोड रकम कुनै आयोजनामा लगानी गर्न पाउने र भारतसँग गरिएको विद्युत व्यापार सम्झौताका कतिपय बुँदा राष्ट्रलाई दीर्घकालीन असर गर्ने खालका भएको उनको भनाइ थियो ।
भारतसँग गरिएको विद्युत व्यापार सम्झौतामा भारतीय लगानीकर्ताले उत्पादन गरेका आयोजनाको विद्युत मात्रै किन्ने बुँदाले हस्तक्षेपलाई थप प्रश्रय गरेको नेता ज्ञवालीको भनाइ छ ।
पछिल्लो समयमा देशमा केही हुँदैन, यो देश बन्दैन भन्ने भाष्य खडा गर्न सरकार नै लागिपरेको आरोप नेता ज्ञवालीले लगाए ।
देशका विकास निर्माणका कामहरु ठप्प हुँदै गएकोप्रति एमालेले जनताका बीचमा जान आन्दोलन गर्ने तयारी गरेको बताए । उनले देशका ७ वटै प्रदेशबाट एमाले सरकारका विरुद्धमा जनतामा जाने बताए ।
सहकारी पीडित नागरिकहरुको पक्षमा सरकारले काम गर्न नसकेको टिप्पणी गर्दै नेता ज्ञवालीले जनताको बचत ठग्ने व्यक्तिहरुलाई पक्राउ गरेर जनताको वचतको सुरक्षा गर्न सरकार चुकेको बताए ।
रास्वपाका सभापति रवि लामिछानेतर्फ संकेत गर्दै उनले देश बनाउँछु भनेर आएका नयाँ दलका नेताहरुले सहकारी सञ्चालकले ठगेको रकम सरकारले तिर्नुपर्छ भनेर गरेको टिप्पणी लज्जास्पद भएको बताए ।
संक्रमणकालीन न्याय, वेपत्ता छानविन, सत्य निरुपण तथा मिलाप आयोगका विषयलाई सरकारले राष्ट्रियसभाका सांसदहरुको भागबण्डासँग जोडेर एमालेलाई बदनाम गराउन प्रधानमन्त्री नै लागेको नेता ज्ञवालीले बताए । उनले सरकारसँग बहुमत भएकाले बहुमतका आधारमा विधेयक पास गर्न सक्ने भन्दै, पीडितलाई न्याय पाउने विषयमा एमालेले कुनै अन्य विषयसँग सौदावाजी नगर्ने बताए ।


















