देशको सार्वजनिक ऋण करिब २३ खर्ब ८५ अर्ब रुपैयाँ पुग्याे

34

काठमाडौं । देशको सार्वजनिक ऋण करिब २३ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ६ महिनामा मात्रै ८५ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ। गत असार मसान्ता (२०८०) सम्म देशको कूल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो।

६ महिनामा (साउनदेखि पुस मसान्तसम्म) ८५ अर्ब २३ करोड ३५ लाख रुपैयाँ थपिँदा देशको सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो। जसमध्ये ११ खर्ब ९८ अर्ब ४ करोड २२ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ बाह्य ऋण रहेको छ।

गत असार मसान्त (२०८०) सम्म ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख रुपैयाँ आन्तरिक ऋण रहेको थियो भने ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैयाँ बाह्य ऋण रहेको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ हो। यसै अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको साँवा बापत ७७ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी समेत गरेको छ। सोही आधारमा ६ महिनामा सार्वजनिक ऋणको खुद वृद्धि ८५ अर्ब १३ करोड रहेको देखिएको हो।

६ महिनामा सरकारले ऋणको सावाँ–ब्याज तिर्नमात्र १ खर्ब १६ अर्ब खर्च गर्नुपरेको छ। यस्तै, ६ महिनामा आन्तरिक ऋणको सावाँ भुक्तानीमा ५९ अर्ब ३७ करोड खर्च भएको छ। आन्तरिक ऋणको ब्याज भुक्तानीमा ३४ अर्ब १९ करोड गएको छ।

बाह्य ऋणको सावाँ भुक्तानीमा १८ अर्ब ७ करोड र ब्याज भुक्तानीमा ४ अर्ब ९३ करोड खर्च भएको कार्यालयको तथ्याङ्क छ। यसरी सरकारले ६ महिनामा ऋणको साँवा–ब्याज तिर्नमात्र १ खर्ब १६ अर्ब ५७ करोड खर्च गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here