काठमाडौं । न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन काठमाडौं महानगरपालिकाले उठाएको छ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले कडाइ थालेको हो ।
महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी पनि गराउने गरेको छ ।
पार्किङ निषेध गरिएको ठाउँमा आज बिहानैदेखि विशेष सरसफाइ गरिएको छ । महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो ।
सडकमा पार्किङ गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ ।

















