काठमाडौं । नेपालमा उत्पादन हुने सिमेन्टमा कार्बनको मात्रा घटाउनेबारे अध्ययन हुने भएको छ। काठमाडौंमा एक कार्यक्रमबीच खानी तथा भूगर्भ विभाग, सिमेन्ट उत्पादक संघ, नेपालस्थित स्विस दूतावास र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेण्ट संस्था (भारत) ले अध्ययन सम्झौतामा संयुक्त हस्ताक्षर गरेका हुन्।
यस अध्ययनलाई नेपालस्थित स्विस दूतावासको आर्थिक प्राविधिक सहयोग गर्नेछ भने टेक्नोलोजी एण्ड एक्शन फर रुरल एड्भान्समेण्ट संस्था (भारत) ले भूगर्भ विभाग र सिमेन्ट उत्पादक संघको सहयोगमा अध्ययन गर्नेछ। यस अध्ययन परियोजनाले नेपालको सिमेन्ट उद्योगलाई डिकार्बोनाइज कसरि गर्न सकिन्छ ? भन्नेबारे प्राविधिक परीक्षण गर्ने बताइएको छ।
कार्यक्रममा नेपाल खानी ताथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अध्ययनले नेपालमा नयाँ प्रकारको सिमेन्ट प्रोडक्शनलाई अगाडि बढाउने नतिजा दिने बताए। उनले नेपालमा भएको रातो वा कमेरो माटो प्रयोग गरेर क्लिंकरलाई ५० प्रतिशत क्लिंकर तथा अरु ३० प्रतिशत क्ले राखेर र यसलाई क्याल्साइन बनाएर नयाँ मिश्रण बनाइने उल्लेख गरे। फेरि यसमा जिप्सम मिसाएर र अरु १५ प्रतिशत लोग्रेट ल्यामुसनलाई मिसाएपछि नयाँ प्रकारको सिमेन्ट बन्ने र यसलाई नै एलसी थ्री सिमेन्ट भनिने घिमिरेले उल्लेख गरे।
यो अध्ययनले नेपालको माटो र क्लिन्करको अध्ययन गरेर सिमेन्ट बनाउन सकिनेबारे निष्कर्ष दिने घिमिरेको भनाइ छ। एक वर्षसम्म स्थलगत अध्ययन गरेर प्राप्त नतिजालाई औद्योगिक उत्पादनको परीक्षण गरेर मात्र व्यवसायिक उत्पादन गर्न सकिने वा नसकिनेबारे प्रतिवेदन आउने महानिर्देशक घिमिरेले बताए।
नेपालमा एलसी थ्री सिमेन्ट उत्पादन गर्नसके सिमेन्ट उत्पादनमा प्रयोग हुने कोइलाको खपत कम हुनेछ। यसले वातावारणमा जाने कार्बन कम हुने महानिर्देशक घिमिरेको भनाइ छ।


















