सभामुख घिमिरे र युएनका उपमहासचिव नाकामित्सुसँग भेट

30

काठमाडौं । सभामुख देवराज घिमिरेसँग सभामुखसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निशस्त्रीकरण मामिला सम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुले भेट गरेकी छिन्। दुई जनाबीच बिहीबार भेट भएको हो।

भेटमा हतियार निशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियार सम्बन्धी कार्य योजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिद्वारा महासभामा गरिएका प्रयासहरू, निशस्त्रीकरण मामिलाहरूमा संयुक्त राष्ट्र संघ कार्यालयले गरेका विश्वव्यापी निशस्त्रीकरण प्रयासहरूको सराहना गरेका थिए।

‘मलाई विश्वास छ कि एसिया–प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियार सम्बन्धी कार्य योजना सम्बन्धी चौथो समीक्षा सम्मेलनको सफलतामा ठूलो योगदान पुर्‍याउनेछ,’ सभामुखले भने, ‘यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ।’

सभामुखले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्र संघसँगको साझेदारीलाई उच्च महत्त्व दिँदै आएको बताएका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसंघ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्त्व दिएको पुष्टि भएको सभामुखको भनाइ थियो।

सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य राज्यहरूको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तहरूको समर्थन गर्ने बताएका थिए।

भेटमा संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुले नेपालको संसद्‌ले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरेकी थिइन्। जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसदले गृहकार्य गर्ने जानकारी दिए।

उपमहासचिव नाकामित्सुले नेपाल विश्व शान्तिका लागि योगदान दिने दोस्रो मुलुक र विश्व शान्तिका लागि महिलाहरुको प्रतिनिधित्व गराउने पहिलो मुलुक रहेको बताउँदै शान्ति स्थापनामा गरेको योगदानको कदर गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here