नेपालविरुद्ध अफगानिस्तानले टस जित्याे

20

काठमाडाैं ।  यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्ने निर्णायक खेलमा नेपालविरुद्ध अफगानिस्तानले टस जितेको छ। टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल केही बेरपछि फिल्डीङका लागि मैदान उत्रिँदै छ।

नेपालले यसअघि पाकिस्तानविरुद्धको खेलमा रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। विकेटकिपर उत्तम राना मगर र तीव्र बलर दुर्गेश गुप्तालाई टोलीबाट बाहिर राख्दै अफगानिस्तानविरुद्ध मध्यक्रमका ब्याटर दिपक बोहोरा र लेग स्पिनर तिलक भण्डारीलाई टोलीमा समावेश गरेको छ।

प्रतियोगिताका अघिल्ला दुई खेलमा पुरै ५० ओभर खेल्दै नेपालले मैदानमा संघर्ष देखाएको थियो। तर अफगानिस्तानविरुद्धको निर्णायक मानिएको आजको खेलमा नेपाललाई सुपर सिक्समा पुग्न हार्ने छुट छैन।

त्यसोत पछिल्ला वर्षहरूमा अफगानिस्तान नेपालमाथि हावी हुँदै आएको छ। तर यो पटक उमेर समूहमा नेपालले समेत राम्रो प्रदर्शन देखाएको र तुलनात्मक रुपमा कमजोर ब्याटिङले अफगानिस्तानलाई समेत दबाब रहेको अवस्थामा नेपाली यूवा टिमलाई नेदरल्यान्ड र पाकिस्तानको तुलनातमा जितका लागि केही सहज टोली मानिएको छ। तर नेपालले अघिल्ला खेलको तुलनामा आफूलाई सुधार्नु जरुरी छ।

आशा गरिएका र अनुभवी मानिएका खेलाडीको कमजोर प्रदर्शन र पछिल्लो क्रमले ब्याटिङ लाइनअप धान्नु पर्ने अवस्था सुधार भएमा नेपालले अफगानिस्तानलाई हराउने छ।

पछिल्लो पटक गत डिसेम्बरमा यूएईमा सम्पन्न एसिया कपमा अफगानिस्तानसँग भिडेको नेपाल ७३ रनले पराजित भएको थियो। युवा ब्याटर अर्जुन कुमालले ९१ रनको इनिङ खेले पनि अन्य खेलाडीको साथ नपाउँदा २६१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८८ रनमै समेटियो। शुक्रबार नेपाल एसियाकपको हारको बदलाका लागि समेत राम्रो अवसर रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here