काठमाडाैं । नेपालबाट चोरी भएर अमेरिका पुगेका थप चारवटा कलात्मक बस्तुहरु नेपाल फिर्ता भएका छन्।
पुरातत्त्व विभागले बुधबार आयोजना गरेको कार्यक्रममा दिइएको जानकारीअनुसार फिर्ता भएकामध्ये तामा बाहुबाट निर्मित भैरवका दुई मुखुण्डा १६ औं शताब्दीमा बनेका थिए। ती मुखुण्डा दोलखाको भिमेश्वर नगरपालिका वडा नं. २ बाट २०५० साल फागुन २२ गते चोरी भएर विभिन्न माध्यम हुँदै अमेरिका पुगेका थिए।
१७ औं/१८ औं शताब्दीमा निर्मित प्रस्तरकै दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरुप शिवलिङ्ग पनि चोरी भएर अमेरिका पुगेको थियो। यी कलात्मक वस्तुहरुको उत्पत्तिस्थल नेपाल भएको भनी पुरातत्त्व विभागबाट प्रमाणित भएपछि फिर्ता भएका हुन्।
सन् १९८६ देखि नेपालबाट हराएका पुरातात्विक तथा कलात्मक वस्तुहरु विदेशबाट फर्कने प्रकिया सुरु भएयता बेलायत, अस्ट्रिया, अमेरिका, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट १४५ थान पूरातात्त्विक सामग्री फिर्ता भइसकेका छन्।
अमेरिकाबाट फर्काइएका पूरातात्त्विक सम्पदाको संख्या ७२ पुगेको छ। यी कलाकृति फर्काउन अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले गरेको पहलका लागि पनि पुरातत्त्व विभागले धन्यवाद दिएको छ।


















