अहिले राजनीतिक दलहरुमा देश दौडाहाको ‘भूत सवार’ भएको छ । एकपछि अर्को राजनीतिक दलले ‘राजनीतिक अभियान’ सार्वजनिक गरिरहेका छन्, जसअनुसार पूर्वपश्चिम यात्रा गर्ने र जनतासँगको अन्तक्र्रिया बढाउने जनाइएको छ । गत मंगलबारदेखि सबैभन्दा ठूलो दल तथा सत्तामा रहेको नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्ने तर, औपचारिक कार्यक्रम भने नहुने जनाइएको छ । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ । यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।
कांग्रेस मात्र होइन, दोस्रो ठूलो दल नेकपा एमालेले पनि केही समयअघि मेचीमहाकाली संकल्प यात्रा गरेको थियो । यस क्रममा अध्यक्ष केपी शर्मा ओली नै यात्रामा निस्किएका थिए । माओवादीले पनि गत पुसमा आफ्नो चार महिने अभियान समापन गरेको थियो । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ आयोजना गरेको थियो । जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित माओवादीले अभियान चलाएको थियो । जसअनुसार पार्टी समितिको बैठक र प्रशिक्षण आयोजना गर्ने, समिति नभएका वडामा समिति गठन गर्ने, पार्टीलाई वैचारिक बहससहित वर्तमानका चुनौती सामना गर्न योग्य बनाउने उद्देश्य राखिएको थियो । अभियानका क्रममा एउटा पालिकामा कम्तीमा एक जना माओवादी केन्द्रीय नेता खटिएका थिए ।
अहिले विभिन्न अभियानमा लागेका दलहरु दशकौंदेखि नेपाली राजनीतिमा सक्रिय छन्, सरकारको नेतृत्व गर्दै आएका छन् । ठूलो संगठन र कार्यकर्ता छन् । पटकपटक सरकारको नेतृत्व पनि गरेकाले जनताको सेवा गर्ने मौका पनि पाएका छन् । तर, सरकारमा रहँदाको अवसर सदुपयोग गर्न नसक्दा उनीहरुले अहिले जनताको भरोसा गुमाउँदै गएका छन् । सरकारको काम भनेको जनताको सेवा हो, उनीहरुलाई सुविधा प्रदान गर्नु हो । देशको अर्थतन्त्रलाई बलियो बनाउनु हो । रोजगारी वृद्धि र किसान, श्रमिक तथा सर्वहारा वर्गको उत्थान गर्नु सरकारको कर्तव्य हो । जनतालाई राहत पुग्ने खालका कार्यक्रमहरु सरकारबाट लागू गर्न दबाब सृजना गर्ने काम मात्र सत्तासीन पार्टीले गर्ने हो भने जनताबीच त्यो पार्टीको लोकप्रियता अवश्यम्भावी बढ्छ । अझ सरकारले नै पार्टीका सुझावलाई सम्बोधन गर्ने हो भने अरु पार्टीको प्रतिस्पर्धा पनि सम्भव हुँदैन । यसरी काम गर्न सकेमा कुनै पनि दल जनतामा लोकप्रिय हुने मात्र नभई यस्तो विशेष रूपान्तरण अभियानको पनि आवश्यकता पर्दैन । यस्तै, देशको बिग्रँदो अर्थतन्त्र, बैंक तथा वित्त, स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रको चरम विकृति, सर्वसाधारणको कठिनाइपूर्ण जीवनस्तर, बेरोजगारी जस्ता क्षेत्रमा सरकारले काम गरी जनताको मन जित्न सक्छ । जनधारणा साप्ताहिक

















