काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी–जनजाति समुदायको राजनीतिक अबिभावक नेकपा माओवादी भएको बताएका छन् । उनले आफ्नो वास्तविक राजनीतिक अभिभावक को हो भन्ने विषय भुल्न नहुने बताएका छन् । आदिवासी–जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी–जनजातिलाई आफ्नो नेतृत्वबारे अन्योल नहुन सुझाव दिए ।
आफ्नो राजनीतिक नेतृत्व चिन्न नसके प्राप्त अधिकार रक्षा गर्न कठिनाइ हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘जुन राजनीतिक शक्ति र नेतृत्वले पहिचान र अधिकारको मुद्दा उठायो, त्यसका पक्षमा दृढथतापूर्वक संघर्ष गर्याे, निकै ठूलो वैचारिक बहस र कानुनी लडाइँमा विजय हासिल गरेर ती अधिकारहरू संविधानमा लिपिबद्ध गर्याे, त्यो शक्ति र नेतृत्वलाई चिन्न सकिएन भने प्राप्त अधिकार रक्षामा प्रश्न खडा हुन्छ ।
प्रधानमन्त्री प्रचण्डले राजनीतिक रूपमा पहिचान र अधिकार नरुचाउने शक्तिहरूमा आबद्ध हुने, तर अधिकारको माग परिवर्तनकारी शक्तिसँग गर्ने विरोधाभाषबाट माथि उठ्न सल्लाह दिए ।
समाजवादउन्मुख राज्य निर्माणको संकल्प गरेको वर्तमान संविधान कसरी रक्षा गर्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानलाई थप सुदृढ गर्न सकिन्छ, यसको प्रगतिशील कार्यान्वयन गर्न सकिन्छ र थप अधिकारका निम्ति वैधानिक मोर्चाबाट पहल लिनुपर्छ ।’
स–साना स्वार्थहरू त्यागेर बृहत्तर हितका पक्षमा संगठित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आदिवासी जनजातिहरूको बृहत् एकता र सही नीति, विचार र नेतृत्व छनोट गर्नुपर्छ भने । संसद् र नीति निर्माणको तहमा परिवर्तनकारी शक्ति कमजोर हुँदा परिवर्तनका मुद्दामाथि प्रतिगामी शक्तिहरूबाट बारम्बार हमला हुने भएकाले त्यसतर्फ सचेत रहन प्रधानमन्त्रीले आग्रह गरे।
















