काठमाडौं । भिजिबिलिटी कम हुँदा आज बिहान काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएका छन् । बिहान नौ बजेपछि भिजिबिलिटी बढ्दै गएकाले अब भने आन्तरिक उडान सुरु गर्ने तयारी भइरहेको छ ।
आज बिहान काठमाडौं उपत्यकामा हुस्सु-कुहिरो लागेको थियो । बाक्लो कुहिरोका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक उडान हुन सकेका थिएनन् । अन्तर्राष्ट्रिय उडान भने भइरहे ।तर बिहान नौ बजेपछि भिजिबिलिटी बढ्दै गएकाले उडान सुरु गर्ने तयारी छ । भिजिबिलिटी १२०० मिटर पुगेपछि आन्तरिक उडान समेत सुरु गर्ने तयारी गरिएको विमानस्थल कार्यालयले स्रोतले बतायो ।
आज बिहान तराईका जिल्लाहरुमा पनि हुस्सु र कुहिरो लागेको थियो । सबैभन्दा कम भिजिबिलिटी बाँकेको नेपालगञ्जमा थियो । नेपालगञ्जमा आज बिहान कुहिरो लागेकाले जम्मा २०० मिटर मात्र भिजिबिलिटी थियो ।
पश्चिमी वायुको प्रभावले पश्चिम नेपाल र पहाडी क्षेत्रको मौसम खराब भएकाले पनि हवाई उडान प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराई र पहाडी क्षेत्रको मौसम आज अपराह्नपछि क्रमशः सुधार हुँदै जाने छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईमा लागेको हुस्सु पनि मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
पश्चिम तराई भन्नाले कञ्चनपुरदेखि पश्चिम नवलपरासीसम्मको भूभागलाई बुझिन्छ । मध्य तराई भन्नाले चितवनदेखि धनुषासम्म र पूर्वी तराई भन्नाले सिरहादेखि झापासम्मको क्षेत्रलाई बुझिन्छ ।


















